दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योगमन्त्री
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन गरे । सर्वोदय दललाई रास्वपामा विलय गराएर सांसद बनेका साह अहिले उद्योगमन्त्री नियुक्त भए ।

२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिइन् । उनको स्थानमा सुनसरी-४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् । साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् । पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले यसबीचमा चार वटा पार्टी चहारिसकेका छन् । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथि साह रास्वपा सांसद हुँदै मन्त्री पदमा पुगेका छन् । पेसाले इन्जितयर साहले जनमत पार्टी गठन गर्न राउतलाई ठूलो सहयोग गरेका थिए । दुवैको अध्ययनको क्षेत्र इञ्जिनियरिङ हुँदा साह र राउत नजिकिएका थिए । जनमत गठनपछि साह उच्च तहका दुई पद उपाध्यक्ष र अनुशासन समितिको प्रमुख बने । यो पनि पढ्नुहोस ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन् सुरुमा जनमतले केन्द्रीय कार्यालय साहको भक्तपुरस्थित घरमा राखेको थियो । सूर्यविनायक-३, भक्तपुरमा रहेको साहको घरको भुइँ तलामा जनमतको सुरुवातकालीन पार्टी कार्यालय थियो । कुनै बेला पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा भर्ना हुनका लागि राउतलाई आर्थिक जोहो गरिदिने व्यक्ति उनै नवनियुक्त मन्त्री साह थिए । उक्त प्रसंगलाई जनमतका अध्यक्ष राउतले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् । पार्टी गठनपछि राउत र साहको सम्बन्ध दिगो भने भएन ।
अध्यक्ष राउत र तत्कालीन उपाध्यक्ष साहबीचको सम्बन्धमा दरार आउनुमा आर्थिक विषय कारण रहेको उनीहरूको सम्बन्धबारे जानकार मधेशका नेताहरू बताउँछन् । राउत र साहबीचको तीन दशक लामो सम्बन्धमा दरार ल्याउने अर्को प्रकरण भने गोमा लाभलाई संघीय सांसदबाट हटाउने निर्णय थियो । अनुशासन आयोगका प्रमुख रहेका साहले गोमा लाभलाई हटाउने निर्णयमा पुनर्विचारको आग्रह गरेका थिए । गोमालाई सांसद पदबाट हटाउन अध्यक्ष राउतले पटकपटक तत्कालीन सभामुख देवराज घिमिरेलाई पत्र लेखेका थिए । तर त्यसबेलाका सभामुख घिमिरेले जनमत अध्यक्षको चाहनाअनुसार गोमालाई हटाएनन् । सम्बन्ध बिग्रिँदै गएपछि साहलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बन गरेर गत साउनदेखि साहलाई पार्टीबाट नै निष्काशन गरिएको थियो । उपाध्यक्ष साहले पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको, विधान विपरीतका गतिविधिमा संलग्न भएको र पार्टी फुटाउन गुटगत बैठक गर्दै हिँडेको जनमतको आरोप थियो । पार्टीबाट निलम्बनका क्रममा पनि उनले पार्टीको नाम, झण्डा, छाप आदिको प्रयोग गरिरहेका थिए । जनमतबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन भए पनि उनी राजनीतिमा भने निष्क्रिय बसेनन् । साहले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराए । जनस्वराज पार्टीको नामका विरुद्धमा अदालतमा मुद्दा पर्यो । जनमत पार्टी परित्याग गरेकाहरूले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष राउत अदालत गएका थिए । साहको नेतृत्वमा आयोगमा दर्ता भएको जनस्वराज पार्टीलाई अदालतले मान्यता दिएन । त्यसपछि उनले अर्को दल दर्ता गराए ।
साहले नयाँ दल ‘सर्वोदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गराए । उक्त दलले चुनाव चिह्न ‘मकैको घोगा’ प्राप्त गरेको थियो । उक्त दलका अधिकांश व्यक्ति जनमतबाट निस्केका, निष्काशनमा परेकाहरू थिए । चुनावको मुखमा साह स्वयं नै रास्वपामा प्रवेश गरे । उनको दल सर्वोदय रास्वपामा विलय भयो । सुनसरीका साहले रास्वपाबाट सुनसरी-४ मा प्रतिनिधिसभाको टिकट पाए । चुनावी लहर रास्वपाको पक्षमा आएको बेला उनले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो अन्तरले पराजित गरे । २०७९ सालमा जनमतबाट चुनावी प्रतिस्पर्धा नगरेका साह पहिलो पटक उम्मेदवार बनेका थिए । उनी ४२ हजार ७७१ मत मत प्राप्त गरेर निर्वाचित हुँदा पराजित कार्कीले १६ हजार ५८७ पाएका थिए । सुनसरीस्थित कप्तानगञ्जमा गत साउन १० गते भएको घटनाका विषयमा आफूखुसी प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि पार्टीभित्र प्रश्न उठेको थियो । दुई समुदायबीचमा भएको उक्त घटना विस्तार हुँदै मधेशमा समेत पुगेको थियो । दुई समुदायको विवाद उग्रहुँदा सुनसरीमा ३ र सिरहामा १ जनाको ज्यान गएको थियो । गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनमा सुनसरी घटनाको छुट्टै प्रतिवेदन तयार गरेको साहले दाबी गरेका छन् । विना निर्णय आफूखुसी प्रतिवेदन तयार गरेको र उक्त घटनामा रास्वपाका सांसदलाई पनि दोषी देखाएको भन्दै साहका विषयमा पार्टीभित्रै प्रश्न उठेको थियो । यो पनि पढ्नुहोस पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
यस विषयमा टेलिभिजनको विस्तृत विश्लेषण हेर्नुहोस्
थप ताजा समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल

नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु

नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी

यो प्रलयका कारण नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्नु हुँदैन : कुलमान घिसिङ

राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले दिए राजीनामा

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते

इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद

'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए

उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?

मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर

'बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो'

काठमाडौं विश्वविद्यालयले मगर भाषा शिक्षक उत्पादन कक्षा सञ्चालन गर्ने

